काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वको सरकार बन्ने बताएका छन् ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति पुनले एमाले नेतृत्वको सरकारलाई समर्थन दिएका दलहरुले आइतबार नै सर्मथन फिर्ता लिएकाले कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका हुन ।
सभापति पुनले आइतवार माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएर समर्थन फिर्ता लिएको भन्दै २/३ दिन भित्र काँग्रेस संसदीय दलका नेता डिल्लि चौधरीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले मुख्यमन्त्री लिला गिरीले नैतिकताको आधारमा राजिनामा दिएर मार्गप्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोलिदिनेमा आफु विश्वस्त रहेको बताएका छन् ।
पुनले ५४ जना सांसदहरुले नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली वहादुर चौधरीलाई समर्थन गर्ने बताएका छन् । ८७ जना प्रदेश सांसदहरु रहेको लुम्बिनी प्रदेशमा कांग्रेसका २७ सांसद छन् । सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ ।