काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका असन्तुष्ट कार्यकर्ताहरुले उनलाई पदमुक्त गर्न माग गर्दै रिले अनसन बस्ने भएका छन् ।
काठमाडौं जिल्ला पार्टी कार्यालय र नेविसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी जारी राखेका असन्तुष्ट कार्यकर्ताहरुले सोमबारदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा रिले अनसन सुरु गर्ने भएका हुन ।
आफ्ना माग सम्बोधन नभएकाले सोमवारदेखि पार्टी कार्यालयमा रिले अनसन शुरु गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए आमरण अनसन बस्ने एक कार्यकर्ताले बताएका छन् ।
अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।
अध्यक्ष शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा मनोज डंगोललाई मनोनित गरेका थिए । साथै त्रिभुवन विश्वविद्यालय समन्वय समितिको अध्यक्ष पदमा तीन जनालाई मनोनित गरिएको पत्र सार्वजनिक भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको निर्णयअनुसार दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए ।
अध्यक्ष शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेको र मनोमानि ढंगले अघि बढेको भन्दै उनलाई पदमुक्त गरेर नयाँ कार्यसमिति गठन गर्नुपर्ने असन्तुष्ट कार्यकर्ताको माग छ ।
शेर्पालाई असन्तुष्ट नेविसंघका कार्यकर्ताले मात्र होइन, पार्टीको दोलखा र मकवापनुर जिल्ला कमिटीले पनि कारवाहीको माग गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै दोलखाका पार्टी सभापति बर्मा लामाले नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका थिए ।
पार्टीको सर्वसम्मत सिफारिसलाई बेवास्ता गरी शेर्पाले दोलखामा साधारण सदस्य नै नभएको व्यक्तिलाई नेविसंघको जिल्ला अध्यक्ष मनोनीत गरेको भन्दै बस्खास्त गर्न माग गरिएको हो ।
त्यस्तै विद्यार्थीमा विवाद बढ्दै गएपछि कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न सभापति शेरबहादुर देउवा समक्ष माग गरेका थिए ।
पार्टी जिल्ला समितिले सुवास सापकोटालाई नेविसंघ जिल्ला समितिको अध्यक्ष बनाएको थियो । यता, नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघ मकवानपुरमा अध्यक्ष भिषण ठकुरी रहेको पत्र थमाइदिएपछि विवाद बढेको थियो ।
दुवै अध्यक्षले आफू आधिकारिक रहेको दाबी गरिरहेको अवस्थामा कांग्रेस जिल्ला समितिले भने सुवास सापकोटालाई नै आधिकारिक अध्यक्ष मान्नुपर्ने बताएको थियो।