पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सेनाका बारेमा गरिने अनर्गल प्रचारमा नलाग्न आग्रह गरेका छन् । समयसमयमा कसैको इशारामा बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्याका बारेमा टिप्पणी हुने गरेको उनले बताए ।
पोखरामा बिहीबार भूतपूर्व सेनाका सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले भने, ‘ सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइज हुनुपर्छ, र अन्य नचाहिँदो नचाहिँदो किसिमका कुराहरू पनि हुने गरेको छ । यसलाई प्रकाशित गर्ने गरेको पनि पाइएको छ, यो हेर्दा हाँस्यास्पद हो ।’
सेनाको संख्या निर्धारण गर्ने काम सरकारको भएको शर्माले जिकिर गरे । उनले भने- ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ न कि कुनै आइएनजीओ र एनजीओमा बसेर आफै स्वघोषित डाक्टर, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले गर्ने होइन ।’
‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको संविधान प्रदत्त जिम्मेवारी हो,त्यसका साथै विकास निर्माण, पर्यावरण संरक्षण तथा बिशुद्ध शान्ति स्थापना र व्यवस्थापनलगायत नेपाली जनतालाई आवश्यक परेका अन्य कुराहरूमा सहयोग गर्ने जिम्मेवारीहरू साथसाथै नेपाल सरकारबाट तोकिएका विभिन्न कार्यहरू गर्नु नै हामीले आफ्नो जिम्मेवारी हो भन्ने गरेका छौं,’ उनले भने, ‘यिनै जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिबद्ध छ ।’नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूका बारेमा बेला मौकामा दुष्प्रचार गर्ने नियतले अनर्गल गाली हुने गरेको उनको भनाइ थियो ।