काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको प्रतिकको सज्ञा दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता पौडेलले प्रचण्डलाई प्रश्न गर्दै भने “यदि तपाईँलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते तपाई त्यस प्रकारको सहमतिमा किन पुग्नुभयो ?, वालुवाटारबाट बालकोट किन पुग्नु भयो ?’, पौडेलले भने, ‘आज तपाईँले जवाफ दिनुस् नदिनुस्, आज तपाई जवाफ नदिन सक्नुहुन्छ । तर तपाईँलाई निरन्तर प्रश्न सोधिरहनेछ । एउटा विन्दुमा गएर तपाईले यसको जवाफ दिनै पर्ने छ ।’ पौडेलले सरकार बनेको तीन महिनामै दुई पटक विश्वासको मत लिनु पर्ने अवस्था स्वयं प्रचण्डका कारण आएको बताउँदै अब अर्को विश्वासको मत कुन मितिमा लिनु हुन्छ ? भन्दै व्यंग्यात्मक प्रश्न समेत गरेका छन् ।
पौडेलले भने ‘प्रचण्डको नेतृत्वमा सरकार बन्दा कुन पृष्ठभूमिबाट अघि बढेका थियौँ त्यो पृष्ठभूमिलाई हेक्का राख्न जरुरी छ । निर्वाचनमा एकातिर गठबन्धन र अर्कोतिर एमाले भएर निर्वाचन भयो । निर्वाचनमा एमाले मतका हिसाबले पहिलो भए पनि सिटका आधारमा दोस्रो पार्टी बन्यो त्यसैले प्रतिपक्षमा बस्छौ भनेर भनेका थियौ । जब गठबन्धनले सरकार दिन सकेन, राष्ट्रपतिले दिएको समयभित्र पनि सरकार गठनमा गठबन्धनले सरकार दिन सकेन, त्यस परिस्थितिमा माओवादी केन्द्रका अध्यक्षले समर्थन मागेकाले सशर्त समर्थन गरेका थियौ ।’
राष्ट्र, राष्ट्रियता र संविधानको पक्षमा उभिनुपर्छ, आर्थिक समस्या समाधान गर्नुपर्छ भन्ने सर्तमा समर्थन गर्ने प्रतिबद्धता जनाएका थियो ।’