काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिँदैछन् । तेस्रो पटक प्रधानमन्त्री बन्दा समर्थन गरेका दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनु परेको हो।
राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच असमझदारी भएपछि एमाले र राप्रपा प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएका थिए ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्री प्रचण्ड आज विश्वासको मत लिँदैछन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री प्रचण्डले पहिलोपटक गत पुस २६ गते प्रतिनिधिसभाबाट ९९.२६ प्रतिशत विश्वासको मत प्राप्त गरेका थिए ।
नयाँ गठबन्धनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ ।
माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन रहने विश्वास गरिएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ सांसदको मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन् । प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीको एक सांसद छन् ।
यसअघि प्रचण्डले विश्वासको मत लिँदा कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडैल र चन्द्र भण्डारीले मतदान गरेका थिए । तर, पौडैल राष्ट्रपति निर्वाचित भएका र भण्डारी भारतमा उपचारत रहेकाले मत दिन सम्भव छैन।
यसैगरी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र जसपाका संसदीय दलका नेता रामसहाय यादवले समेत प्रचण्डलाई मतदान गर्ने छैनन् । यादव उपराष्ट्रपति निर्वाचित भइसकेका छन् भने पुन विदेशमा उपचारत रहेकाले उपस्थित हुन नसक्ने अवस्था छ ।