विराटनगर । कोसी प्रदेश नामकरणप्रति असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आज वृहत् प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय विराटनगरले सम्भावित क्षति रोक्न विहानैदेखि केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
आज बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् ।