काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको हो । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन । २०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन ।
निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ ।
निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
स्ववियु क्याम्पसमा अध्ययनरत विद्यार्थीको साझा संस्था हो । विद्यार्थीहरूको हक हितको लागि संरक्षण गर्न विभिन्न कार्यक्रम बनाइ कार्यान्वयन गर्ने जिम्मेवारी स्ववियुको हो ।
त्रिभिवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले प्रेस विज्ञप्ति प्रकाशित गरी सबै विद्यार्थी, अभिभावक, पत्रकार, नेपाल सरकार र गृह प्रशासनलाई स्ववियु निर्वाच सम्पन्न नभएसम्म आवश्यक सहयोग गरिदिन अपिल गरेका छन् ।
विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने त्रिविले जनाएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा भने इलेक्ट्रोनिक्स भोटिङ मेसिनको प्रयोग गर्ने तयारी गरिएको छ ।




















