काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दु:ख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौं समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने, ‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरिएको छ । पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुःख पाएको कुरा गम्भीर छ । कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस् ।’
त्यस्तै प्रधानमन्त्री दाहालले गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक बनाउनेतर्फ लाग्ने र कार्य सञ्चालनसँग सम्बन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन गर्नसमेत निर्देशन दिए ।




















