काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।
खाली रहेको समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभातर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छिन् । पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैंकले समानुपातिक सांसद चयन गर्ने छ ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका बारेमा पनि छलफल हुने बताइएको छ ।
सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाका रामसहाय प्रसाद यादव र नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति पदको उम्मेदवार छन् ।
सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवार भएकाले कुनै एकजना उम्मेदवार मात्र कायम गर्ने विषयमा गठबन्धनभित्र छलफल भएपनि सहमति हुन सकेको छैन ।
बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पुनः गठवन्धनको बैठक बस्ने बताइएको छ ।