काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले नियोजित रुपमा आफुमाथि षडयन्त्र भएको बताए ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले राजनीतिक पूर्वाग्रहका आधारमा आफुमाथि मुद्धा लगाएको र सोहि अनुसार फैसला आएको बताएका छन् । उनले नियमानुसार नै आफुले जग्गा भाडामा लगाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र समाज कल्याण परिषदले गर्दै आएको नियमानुसार नै आवश्यक निर्णय गरेको दावी गरेका छन् । सोही प्रक्रियामा सहभागी अरुलाई सफाई दिएर आफुलाई मात्रै नियोजित रुपमा फसाइएको उनले बताएका छन् ।
उनले आफु मन्त्री हुँदाको दिनदेखि अहिलेसम्म राज्यको कुनै निकायबाट अनियमितता नगरेको दावी गरेका छन् ।
न्यौपानेले आफु विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदनमा जान आर्थिक रुपमा सक्षम नभएको उल्लेख गर्दै पत्रकार सम्मेलनका बीचमा धरधरी रोएका उनले जनताले सहयोग गरे अदालत जाने बताए ।
विशेष अदालतले मनोमानीसंग २० करोड ७१ लाख ३४ हजार रुपैयाँ नोक्सानी पारेको भनिएपनि के कसरी नोक्सानी भयो भनेर स्पष्ट पार्न नसकेको उनको आरोप छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले साढे ९ वर्ष कैद सजाय र साढे २ करोड जरीवाना सुनापछि न्यौपानेले रुँदै भने– ‘पूर्णपाठ आएको ३५ दिनभित्र म जानुपर्छ । म सम्मानित अदालतमा न्यायका लागि जान्छु । तर मसँग् पैसा हुनुपर्यो नि ! कसैले माया गरे, जग्गा दिए । सहयोग गरे म जान्छु तर मसँग भएन भने मैले कहाँबाट ल्याउनु ? त्यत्रो पैसाको बिगो मैले कहाँबाट तिरौं ? कहाँ धरौटी राखाैं ? मसँग के छर ? सडकमा बसेको सुकुमवासी हुँ, मान्छे मेरो केही उपाय छैन । बद्रीलाई अन्याय भएको छ भनेर नेपाली जनताले सहयोग गरे जाने हो । नत्र म कहाँबाट जाने? ।’




















