काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रासायनिक मल खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।
किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय गलत भएको भन्दै अध्यक्ष लिङ्देनले सुलभरुपमा मल आपूर्ति व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापना प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबारको बैठकले अनुदान घटाउने निर्णय गरेको थियो ।
कृषि मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर दिइएको अनुदान अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको जनाएको थियो । अब त्यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिने मन्त्रालयले जनाएको छ ।
अनुदान कटौती भएसँगै १४ रुपैयाँ पर्ने युरिया २५ रुपैयाँ पुगेको छ भने ४३ रुपैयाँ पर्ने डीएपी ५० र ३१ रुपैयाँ पर्ने पोटास ४० पुगेको छ ।