काठमाडौँ । सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गर्दा किसान मर्कामा पर्ने भएका छन् । रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलमा दिँदै आएको अनुदान घटाएको हो ।
सरकारले मलमा दिँदै आएको ७०.८२ प्रतिशत अनुदान कटौती गरेर ५९.०४ प्रतिशतमा झारेको छ । त्यसलाई पनि घटाएर ५० प्रतिशतमा कायम गर्ने तयारी मन्त्रालयले गरेको बुझिएको छ ।
अनुदान कटौती भएसँगै १४ रुपैयाँ पर्ने युरिया २५ रुपैयाँ पुगेको छ भने ४३ रुपैयाँ पर्ने डीएपी ५० र ३१ रुपैयाँ पर्ने पोटास ४० पुगेको छ ।