काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चमा आफुबिरुद्ध परेको मुद्दाका कारण माओवादी घटकहरुलाई एकठाँउमा आउने बाटो खुलेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफुबिरुद्ध परेको मुद्दाले कुनै चिन्ता नभएको र यसका कारण माओवादी घटकहरुलाई एकठाँउमा आउने बाटो खुलेको बताएका हुन ।
उनले अदालतले पनि विस्तृत शान्ति सम्झौता भन्दा बाहिर नगई आदेश गरेको र यसले छिटो भन्दा छिटो ऐन अगाडि बढाउन मद्दत पुगेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मान्छेहरु मुलुकको परिवर्तन र जनताको हक अधिकारलाई खोस्नका उद्दत रहेकोले सचेत रहनुपर्ने बताएका छन् । उनले एकतावद्ध भएर अघि बढे दुनियाँको कुनै तागतले हराउन नसक्ने दावी गरेका छन् ।
विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता वा नेतृत्वकर्ता तथा संविधान बनाउनेमाथि नकारात्मक सोच राखे सफल नहुने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले जुनसुकै धारमा रहेर पनि मुलुकका लागि ज्यान गुमाउनेहरु राष्ट्रिय सहिद भएकाले सवैलाई राष्ट्रिय सम्मान दिन सक्नुपर्ने बताएका छन् । उनले छिटै एकताबद्ध भएर मुलुकको परिवर्तनलाई संस्थागतका साथै संविधानलाई पूर्ण बनाउनका लागि अघि बढ्ने पनि बताएका छन् ।