काठमाडौं । नेकपा एकीकृत माओवादी केन्द्रको नेतृत्वमा आज विभिन्न समूहमा विभाजित माओवादी घटकहरुको संयुक्त पत्रकार सम्मेलन हुँदैछ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि माओवादी घटकहरुबीच भएको वैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधि भएको भन्दै त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका थिए ।
वैठकका निर्णय सार्वजनिक गर्ने र अन्य रणनीतिको जानकारी दिन माओवादी घटकहरुले आज दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका हुन ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलन गर्न लागिएको हो ।
त्यस्तै ३० गते आयोजना हुने अन्तर्क्रियामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुने सहभागि हुने बताइएको छ ।
पूर्वमाओवादी घटकहरुबीच फागुन २३ र २६ गते वैठक बसेको थियो । वैठकले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
आज गरिने संयुक्त पत्रकार सम्मेलनबाट संयुक्त अपिल जारी गर्ने र केही दिनमै समाजवादी मोर्चा बन्ने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा शनिबार मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताएका छन् ।
आज हुने संयुक्त पत्रकार सम्मेलनलाई चासोका रुपमा हेरिएको छ ।




















