काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति पदमा दावी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उन्मुक्तिका सांसद गंगाराम चौधरीले अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय भएको जानकारी दिएका छन् ।
जसपाका संसदीय दलका नेता रामसहाय यादवलाई ९ दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिने भनिएकै बेला नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको हो ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि आज विहान जसपालाई उपराष्ट्रपति दिने निर्णय नभएको बताएका थिए । खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन् । उनले गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए ।
जसपाले भने उपराष्ट्रपतिमा बारा २ बाट निर्वाचित सांसद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सो क्षेत्रमा उपेन्द्र यादव उपचुनाव लड्ने तयारीमा छन् । अध्यक्ष यादवले रामसहायलाई उपराष्ट्रपति बनाएर उनको क्षेत्रबाट उपनिर्वाचन लड्ने योजना अनुसार नै अशोक राईलाई संसदीय दलको नेता बन्न नदिइ यादवलाई बनाएका थिए । गत मंसिर ४ मा भएको निर्वाचनमा सिके राउतसँग पराजीत भएका यादव उपनिनर्वाचन जितेर संसदीय दलको नेता बन्ने र सरकारमा पनि आफ्नै नेतृत्वमा जाने रणनीतिमा छन् ।
उपराष्ट्रपतिमा नाउपाको दावी र निर्वाचन आयोगको संकेत उपेन्द्र यादवको योजना चकनाचुर हुने हो कि भन्ने सम्भावना बढेको छ । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने संकेत गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदायको मात्र उम्मेदवार हुनसक्ने निर्णय गरेको छ ।
बैठकपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।’
संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ’ भनिएको छ ।
एक आयुक्तका अनुसार शुक्रबारको निर्णयको प्रष्ट आशय उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता हुन सक्दैन । किनकी पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार हुनुपर्छ । साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन दर्ता गर्ने निर्णय छ ।
चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ ।



















