काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले संसदीय दलको नेतासमेत रहेकी श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।
उनले भने,’हाम्रो पार्टीको तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिमा उठाउने सर्वसम्मति निर्णय गरेका छौं । यो विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने तयारी गरेका छौं।’ उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।
यस्तै, जनता समाजवादी पार्टीको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा राष्ट्रपतिमा कांग्रेस र उपराष्ट्रपतिमा जसपालाई दिने समझदारी भएको थियो । तर, सत्ता घटक दलभित्रै रहेको नागरिक उन्मुक्तिले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।
नेकपा एमालेले भने उपराष्ट्रपतिमा उम्मेदवारीबारे निर्णय गरेको छैन ।




















