काठमाडौँ । द्वन्द्वकालमा सँगै रहेका र शान्ति प्रक्रियामा आएपछि छिन्नभिन्न भएका माओवादी घटकहरूको आज बिहान बसेको बैठक सकिएको छ । वैठकले दुई/चारदिन भित्रै संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।
बैठकले द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग अन्तर्किया गर्ने निर्णय पनि गरेको बताइएको छ।
बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, आइतबार संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी भएका थिए ।
सर्वोच्च अदालतमा यही फागुन २३ मा दर्ता द्वन्द्वकालीन दुईवटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा उभ्याइदिएको हो ।
नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय यसअघि नै गरिसकेका छन् भने उनीहरुबीच पार्टी एकताका लागि पनि वार्ता भइरहेको बताइएको छ ।




















