काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि संघीय संसद भवनमा मतदान सुरु भएको छ ।
संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएको हो । नौ दलीय गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।
नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् ।
१० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ ।
संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले मतदान गर्दैछन् ।
संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।
निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् ।




















