काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गरिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
यसैगरी खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको बताइएको छ ।
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो ।
माओवादी घटकका ८ दलले मंगलबार संयुक्त बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्ने निर्णय गरिएको थियो ।
प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा पहिलो सुनुवाइ आजलाई तोकिएको छ ।



















