काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिट निवेदक अधिवक्ता ज्ञानेन्द्रराज आरणले मंगलबार बिहान सर्वोच्च पुगेर प्रचण्डविरुद्ध रिट दायर गरेका हुन् ।
गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो ।
अधिवक्ता आरणले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् ।
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले अधिवक्ता आरणले प्रचण्डविरूद्ध दिएको रिट दर्ता भएको र बिहीबारका लागि पेशी तय भएको जानकारी दिए ।
१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए ।
उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो । त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए ।
अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए । त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए ।
सर्वोच्चले प्रचण्डविरूद्ध मुद्दा दर्ता गर्न आदेश दिएपछि माओवादीमा हलचल भएको छ । प्रचण्डविरुद्ध मु्द्दा दर्ता गर्ने सर्वोच्च अदालतको आदेशप्रति माओवादी केन्द्रले आपत्तिसमेत जनाएको छ ।




















