काठमाडौँ । १० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका र शान्ति प्रक्रियामा आएसँगै छिन्नभिन्न भएका विभिन्न माओवादी धारा नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले फागुन २१ मा आयोजना गरेको कार्यक्रममा भेला भएका नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका थिए । त्यसपछि आज पहिलोपटक माओवादीबाट विभाजित भएका नेताहरूको बैठक बसेको हो ।
सम्पूर्ण माओवादी घटकहरू एकताबद्ध हुने विषयमा आजको बैठक केन्द्रित रहेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका नेता खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरूको उपस्थिति रहेको बताइएको छ ।



















