काठमाडौँ । पोखरामा आइतबार कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ ।
दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको हो । यसअघि पोखरामा बिहीबार हिउँदे वर्षा भएको थियो। त्यसपछि आइतबार ठूलो वर्षा भएको हो ।
लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि यहाँको कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्याएको छ ।
बिहीबार परेको असिनाले पोखरा-३० गगनगौडा, पोखरा- ३२ मालमुलफाँट र भरतपोखरी लगायत क्षेत्रमा पाक्न लागेको हिउँदे खेतीलाई नोक्सान पुर्याएको थियो ।
वर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहत मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ ।
बिहीबार परेको असिनाले मालमुलफाँटमा लगाइएको तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति पुगेको पोखरा महानगरपालिकाले जनाएको छ ।
मालमुलफाँटमा बेगनास तालको पानीबाट सिँचाइ हुने भएकाले हिउँदे खडेरी भएपनि तोरी, गहुँ लगाउत हिउँदे खेती राम्रो भएको छ । मालमुलफाँटको करिव ४ हजार रोपनीमा खेती हुने र त्यसमा अधिकांशले तोरी खेती गर्ने गरेको छ । यहाँ आलु, गहुँ, फापर, तरकारीको खेती राम्रो हुने गरेको छ ।
असिनाले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो भएको जनाइएको छ ।
























