स्याङ्जा । वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षीय नवीन सुनार चालक र वालिङ नगरपालिका–८ मिर्दीका १४ वर्षिय सोबिन विक (सहचालक) रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
डीएसपी खनालका अनुसार दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो। आइतबार राति ८ बजे ग १ त ६८८६ नम्बरको ट्याक्टर ढुंगा लिएर जगतभन्ज्याङबाट मिर्दीतर्फ आउने क्रममा एक्कासि अनियन्त्रित भइ १५ मिटर तल खसेको थियो। घाइते नवीनको टाउको र ढाडमा चोट लागेको थियो भने सोबिनको टाउको र दायाँ खुट्टामा चोट लागेको थियो। दुवै जनालाई प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको थियो । उपचारको क्रममा चालक सुनारलाई राति साढे ९ बजे डाक्टरले मृत घोषण गरेका थिए ।
सामान्य उपचारपछि थप उपचारको लागि सहचालक विकलाई राति नै पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको थियो। उपचारको क्रममा उनलाई पनि राति नै मृत्त घोषण गरिएको डीएसपी खनालले बताए। सुनारको शव वालिङ स्वास्थ्यचौकी र विकको शव गण्डकी मेडिकल कलेजमा नै रहेको उनले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























