धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन् ।
२०६६ सालको घटनामा २०७० सालमा दोषी ठहर भइ हालै मात्रै जल चलान भएका सांसद चौधरी राष्ट्रपतिबाट आम माफी पाएपछि आज जेलमुक्त हुन लागेका हुन् ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो ।
७३औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले चौधरीको कैद सजाय मिनाहाका लागि सिफारिस गरेको हो । उनी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।




















