काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अधोगतिप्रति आफूहरू मौन रहन नसक्ने बताउँदै देश जोगाउनको लागि राजनीतिक दलहरू र राजसंस्थाबीच आपसी विश्वासका साथ सहकार्य गर्न विलम्ब गर्न नहुने बताएका छन् ।
७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले भनेका छन् ‘नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो। शोकाकूल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामील् संयमता र देशभक्ति गुमाएनौं र देश छाडेर पनि गएनौं। तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’
देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तरराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको भन्दै उनले सन्देशमा भनेका छन् ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न हुँदैन ।’





















