काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् ।
आज नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् । उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफुहरूको दाबी स्वभाविक रहेको बताए । सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्ने उनले बताए । राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण ठानिएको छ ।
उनले कांग्रेसबाट को राष्ट्रपतिको उम्मेदवार बन्ने भन्नेबारेमा चाहिँ केही बताएनन् । पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेको छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ ।
नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वाभाविक हुने पनि बताए । उनले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए । कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहको भनाइ थियो ।
नेपाल जेसिसको प्रसिक्षण भेला आज र भोलि दुई दिनसम्म काठमाडौमा चल्ने छ । भेलामा देशभरका जेसिस अभियान्ताहरुको सहभागिता रहेको छ ।




















