काठमाडौं । बुधबार राति ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।
ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुँदै किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उनकी आमाको ७० प्रतिशत भाग जलेको छ ।
‘माननीयज्यूको अनुहार, हात तथा दुबै गोडामा गरी २५-३० प्रतिशत र आमाको जीउको अधिकांस भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वाशनलीमा तातो हाँवा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्यधिक सम्भावना देखिन्छ’ अस्पतालका जलन बिभागका प्रमुख किरण नकर्मीले जानकारी दिए ।
सो अस्पातालको मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार नेपालमा उहाँको उपचार सम्भव नभएकाले बिदेशमा उपचार गराउन सबन्धित परिवारलाई सुझाव दिईएको छ । परिवारजनका अनुसार उनलाई भारत लैजाने तयारी भइरहेको छ ।
यसैबीच सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरिन् ।




















