काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिवको भ्रमणका क्रममा भएको भेटघाटका बिषयमा प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा केसीले नेपालबाट मन्त्रीहरु जाँदा भारतीय शासकहरुले भेट्न नमान्ने गरेको तर भारतको एउटा कर्मचारी आउदा नेपालका नेताहरु लम्पसार परेर भेट गरेको बताएका छन् । केसीले विदेशी शक्तिका मानिस आउँदा लम्पसार परेर उनीहरुको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने कामले राष्ट्रको सर्वभौममाथि खलल पुगिरहेको धारणा राखेका छन् ।
केसीले नेपालमा राष्ट्रपतिको निर्वाचन हुनै लाग्दा शक्तिराष्ट्रहरुले प्रत्यक्ष रुपमा नै आफु अनुकुलको राष्ट्रपति बनाउने खेल खेलेको बताए । त्यस्तै उनले नेपालमा गणतन्त्रमाथि खतरा गणतन्त्र पक्षधरबाटै भएको जिकिर गरेका छन् । केही दिन पहिले सत्ताधारी दलकै केन्द्रीय सदस्यको नेतृत्वमा झापामा गणतन्त्रको विरुद्धमा चलेको अभियानले गणतन्त्रमाथि कालो बादल मडारिएको उल्लेख गरेका छन् ।
बैठकमा कांग्रेस नेता प्रदीप पौडेलले सत्ता गठबन्धनमा रहेका दलहरुले सरकार छाडेर गठबन्धन कमजोर बन्दै गएको बताएका छन् । उनले मुलुकलाई स्थायित्व दिनका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिनुलाई ढोक्सा थाप्न खोजेको भन्नु उचित नभएको जिकिर गरेका छन् । पौडेलले अहिले एमालेलाई सर्वस्वीकार्य राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको समेत उनले बताए ।
उनले कांग्रेसले संविधानमाथि खतरा पैदा हुने गरी कुनै पनि काम नगर्ने र गठबन्धन ढाल्ने कुनै क्रियाकलाप नगरेको दावी गरेका छन् ।