काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बाँकेकी एकल महिला निर्मला कुर्मीको बेपत्ता, अपहरण र हत्यासम्बन्धी मुद्दामा दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका महिलाहरूको मागमा सरकार संवेदनशील रहेको बताएका छन् । उनले सरकारले मुद्दाको गहिरो अनुसन्धान गरी अदालती प्रक्रियामा पुर्याउन गृहसचिव, प्रहरी महानिरीक्षक र सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।
बाँकेबाट काठमाडौं आएर ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरूलाई मंगलबार बिहान बालुवाटारमा भेट र छलफलपछि प्रधानमन्त्री दाहालले सो मुद्दामा मात्रै नभएर सरकार महिलाका मुद्दामा सधैं संवेदनशील रहेको बताए ।
उनले भने- ‘तपाईंहरू सडकमा संघर्ष गरिरहनुभएको छ । तपाईंहरू त्यसरी बस्नुस् भनेर मैले चाहेको छैन । तर, यो न्याय निरुपणको प्रक्रियाको विषय हो, मैले यहाँबाट निर्णय गर्ने कुरा छैन ।’
प्रधानमन्त्री दाहालले भने, ‘तर सरकार तपाईंहरूले उठाउनुभएको मागमा सधैं संवेदनशील छ । यो मुद्दामा पनि गहिरो अनुसन्धान हुनुपर्छ । त्यसका लागि म तत्काल सम्बन्धित निकायलाई निर्देशन दिन्छु ।’
गृहमन्त्रालयको जिम्मेवारीसमेत आफैं सम्हालेका प्रधानमन्त्री दाहालले गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई निर्मला कुर्मीको मुद्दालाई प्राथमिकतामा राखेर तत्काल अनुसन्धान गर्न र न्यायको प्रक्रियामा अघि बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशनपछि मंगलबारै गृहसचिव सिंहले वार्ताका लागि बोलाएका छन् ।
नेपालगन्जकी निर्मलाको नाममा रहेको ४ बिगाहा १० कठ्ठा जग्गा हत्याउन छिमेकी समेत रहेका कांग्रेस नेता बादशाह कुर्मीसहित आठ जनाले षड्यन्त्रपूर्वक रुपमा उनको अपहरण, शरीर बन्धक र हत्या गरेको महिलाहरुको आरोप छ । उनीहरुले आरोपित बादशाहको प्रभावमा परी मुद्दामा प्रहरीले नै कमजोर अनुसन्धान गरेको र दोषीमाथि कारबाही नभएको भन्दै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् ।
गत वर्ष नेपालगन्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आएका उनीहरुले १३ दिनसम्म आमरण अनशन र धर्ना बसेपछि सरकारले दोषीलाई कारबाही गर्ने सहमति गरेको थियो । तर त्यो सहमतिबमोजिम कारबाही प्रक्रिया अघि नबढेपछि उनीहरु दोस्रो चरणमा ४३ दिनसम्म धर्ना बसे । त्यसपछि पनि माग सम्बोधन नभएपछि उनीहरुले यसपटक गत १४ पुसदेखि निरन्तर धर्ना बसेर सरकारलाई न्यायका लागि दबाब दिइरहेका छन् ।
यस्तो छ धर्नामा बसेका महिलाहरुले प्रधानमन्त्रीलाई बुझाएको माग-पत्र
























