काठमाडौं । सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ परिमार्जन गर्ने भएको छ । भीआईपी सवारीका क्रममा चिकित्सक घाइते भएपछि सरकार र चिकित्सकका प्रतिनिधिबीचको वार्ताबाट ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’परिमार्जन गरिने भएको हो ।
विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी कार्यविधि परिमार्जन हुने भएको हो ।
त्यसका लागि सरकारसमक्ष एक हप्ताभित्रमा सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ ।
यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित) ऐन,२०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने साथै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने सहमति पत्रमा उल्लेख छ ।
सिंहदवारमा आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंह सहभागी थिए । यस्तै,चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, महासचिव डा बद्री रिजाल, ट्रमासेन्टरका निर्देशक डा. रुद्र मरासिनी, संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ सहभागी थिए ।
भीआईपी आवतजावतमा सर्वसाधारण निकै मारमा पर्ने गरेका छन् । आवतजावत नै अवरुद्ध हुने गरी भीआइपी सवारी हुने गरेपछि त्यसको मारमा आमसर्वसाधारण पर्ने गरेका हुन् ।




















