काठमाडौं । नेपाल दलित मुक्ति मोचाको बैठकलाइ सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताएका छन् ।
‘पुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो, त्यो इतिहासकै अभूतपूर्व रह्यो। त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ । त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो । यसले उत्पीडित वर्त, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु’ प्रचण्डले भने, “संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा होइन । यसको ऐतिहासिक महत्व छ। भोलि कसरी जान्छ अहिल्यै भन्न सकिँदैन । तर, एउटा इतिहास त लेखियो । यसलाई कसैले मेट्न वा उल्टाउन सक्दैन। त्यसले के प्रमाणित गरेको छ भने माओवादी नेतृत्वले मात्र देशलाई एकतावद्ध गर्नसक्छ, सबै दलहरूलाई मिलाएर लैजान सक्छ। माओवादी नेतृत्वले मात्र राष्ट्रिय सहमति कायम गर्न सक्छ । त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशको सर्वमान्य भएको छ।”
उत्पीडितहरू नजागी कसैले दयाले अधिकार नदिने बताउँदै प्रचण्डले आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडितहरू नै अग्रसर हुनुपर्ने बताए । बैठकमा प्रधानमन्त्रीले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दा सम्वोधन गर्न सरकारले उच्च प्राथमिकता दिनेसमेत बताए ।




















