काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई घरमै गएर भेटेका छन् ।
शनिबार बिहान चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेट्न शाह घरमै पुगेका हुन् । मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन दिए । टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाइ थियो ।
‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसावले समाधान हुनुपर्छ, छिटो भन्दा छिटो रेशमको रिहाइ र टिकापुर घटनाका बन्दीहरुलाई छुटाउने अभियानमा म आजैदेखि लागिसकेँ’, उनले भने ।
शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो ।
शाहले विश्वासको मत पाउने दाबी गरेका छन् । उनले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने आशा राखेका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन् ।




















