काठमाडौँ । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।
राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरेर राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रपतिलाई सम्मान दिनु पर्छ तर जनतालाई सास्ती दिएर गरेको सम्मानको के अर्थ के ? हामी नै सर्वेसर्वा हो भन्ने दम्भको अब अन्त हुन जरूरी छ।,’ उनले भनेका छन्, ‘चिकित्सक माथिको कुटपिट तथा अपमानको घोर निन्दा र भत्सर्ना गर्दछु। साथै सम्माननिय राष्ट्रपतिले यो विषयमा चिकित्सकसंग माफी माग्न हार्दिक अनुरोध गर्दछु।’
उनले प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमनागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनशिल मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु यो घोर आपतीजन्य निन्दनिय कार्य भएको बताएका छन्।
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।




















