काठमाडौँ । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्याएका छन् ।
सकभर आजै नभए आइतबारसम्म नयाँ मन्त्रीको शपथ गराउने गरी तयारी भइरहेको हो ।
मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको आलोचना भइरहेको छ । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र अन्य साना दलहरुसँग मन्त्रालय भागबन्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए ।
गिरीले आफूसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीलाई बिनाविभागीय मन्त्री बनाएका थिए । उनीहरुको मन्त्रालय पनि अहिलेसम्म टुंगो लागेको छैन ।
मुख्यमन्त्री पाएको नेकपा एमालेले माओवादी केन्द्रलाई अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालय दिन तयार भएपछि सहमति जुटेको माओवादी केन्द्र प्रदेश अध्यक्षको दाबी छ । माओवादीले कुल ३ मन्त्रालय लिने सहमति भएको छ ।
यस्तै सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले एक/एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो ।




















