काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने भएको छ । विश्वासको मतकै लागि बिहीबार संसद बैठक बोलाइएको छ । तर सत्तारुढ दलले सहमति पालना नगरेकाले आजको बैठकमा नाउपाका सांसद उपस्थित नहुने सुदूरपश्चिम प्रदेशका संसदीय दलको नेतामा रामेश्वर चौधरीले जानकारी दिए ।
रावलले पुस २७ गते मुख्यमन्त्री पदको शपथ लिएका थिए । बिहीबार विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो । संवैधानिक व्यवस्थाअनुसार शपथ लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। आफ्नो पार्टीको बटमलाइन रेशम चौधरीको रिहाइ नभसम्म विश्वासको मत दिन नसक्ने चौधरीले स्पष्ट पारे ।
यस अगाडि बुधबार बालकोटमा एमाले अध्यक्ष ओली र नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच छलफल भएको थियो । छलफलमा ओलीले गठबन्धन सरकार टीकापुर घटना राजनीतिक भएको र रेशमलाल चौधरीको रिहाइकै पक्षमा भएकाले विश्वासको मत दिन आग्रह गरेका थिए । उनले रिहाईको प्रक्रिया चलिरहेकाले साथ दिन आग्रह गरेका थिए । जवाफमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको रिहाई पहिलो सर्त भएको बताएकी थिइन् । उनले सत्ता साझेदार दलले पूर्ववत सहमति पालना गर्नुपर्ने अडान राखेकी थिइन् ।
रावलले पुस २७ गते एमालेका १०, माओवादीका ११, नाउपाका ७ र राप्रपाका १ गरी २९ प्रदेशसभा सदस्यको हस्ताक्षरपछि मुख्यमन्त्रीको शपथ खाएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा २७ मत बहुमत हो ।




















