काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको समस्या समाधानका लागि एकतावद्ध हुन प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि केही दललाई टाउको दुखेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा गुरुङले आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा केही दललाई टाउको दुखेको बताएका छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिदै गर्दा कांग्रेसलाई पदप्रतिको आशक्ति नभएको उनले बताए । पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उनले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताएका छन् ।
उनले मुलुकको मुहार बदल्न अव नेताहरु र नेताहरुको सोच बदलिन जरुरी रहेको धारणा राखेका छन् । गरिब नेपालीले ज्वरो आउँदा एक ट्याबलेट सिटामोल नपाउने अवस्था रहेको वताउँदै गुरुङले पहुँचवाला नेताले उपचार खर्च लिनु भ्रष्ट चरित्र भएको टिप्पणी गरेका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले मुलुकको प्राथमिकतामा परेका बिषयहरुलाई अघि बढाउनका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । उनले एक अर्कालाई निषेध गरेर मुुलुकको समस्या समाधान हुन नसक्ने भन्दै मिलेर जाने जनताको जनादेशलाई अंगिकार गर्नुपर्ने धारणा राखेका छन् ।
पौडेलले अहिलेको आवश्यकता भनेको प्राप्त उपलब्धिहरूको रक्षा गर्नु नै रहेकाले संविधानमा संशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।



















