काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलसहितको संयुक्त बैठक जारी रहेको छ ।
बिहीबार अपराह्नदेखि रास्वपाको केन्द्रीय कार्यालयमा बैठक जारी रहेको हो ।
बैठकमा केन्द्रीय समितिका सदस्यहरु, सांसद र मन्त्रीसमेतको सहभागिता रहेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाका साथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
सभापति रवि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन चाहेको रास्वपाले प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक नभएपछि असन्तुष्टि जनाएको छ । यता सत्ता घटक अर्को दल एमालेले भने सरकार गठनको शुरुवातको सहमति कार्यान्वयन गरेर जानुपर्ने दबाब दिइरहेको छ ।
यसका साथै अब सरकारमै रहिरहने या बाहिरिने भन्नेबारे केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गरेर संसदीय दलले पनि सोहीअनुसार अनुमोदन गर्ने तयारी गरिएको स्रोतले बताएको छ ।




















