काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर बिहीबार बिहान लामिछानेले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्रीसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताए । जवाफमा प्रचण्डले गृहमन्त्रीमा आफ्नो पार्टीले समेत दावी गरेकाले सहमति खोजिनुपर्ने जवाफ दिएको बालुवाटार स्रोतले जनाएको छ ।
रास्वपाका अध्यक्ष लामिछानेले सरकार गठनका क्रममा आफ्नो पार्टीले गृह मन्त्रालय पाएको र विगतको सहमति बमोजिम नै बदलिदो अवस्थामा पनि सो मन्त्रालयमा आफ्नो दलको दावी कायमै रहेको बताए ।
तर,लामिछाने आफैले गृहमन्त्री पाउनुपर्ने अडानबाट भने पछि हटेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन भने पनि प्रधानमन्त्री दाहालले दोहोरो नागरिकताको विषय विवादित रहेको र अदालतको पूर्णपाठ समेत आउन बाँकी रहेकाले तत्काल त्यो संभव नभएको अडान राखेका थिए । माओवादी केन्द्रका पदाधिकारीहरूले समेत पुन: लामिछानेलाई गृहमन्त्री नबनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिएका थिए ।
आफू गृहमन्त्री नबन्ने भएपछि आफूले भनेका व्यक्तिलाई लामिछानेले गृहमन्त्री बनाउन कसरत सुरु गरेका छन् । तर, प्रधानमन्त्री दाहालले गृहमन्त्रालय छाड्न लामिछानेलाई भनेको तर लामिछाने नमानेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री दाहालले गृहमन्त्रालय आफूले पाए रास्वपालाई कुनै अर्को मन्त्रालय दिने समेत भनेका थिए । गृहमन्त्रालय माओवादी केन्द्रले पाए माओवादीले चलाई रहेको अर्को रोज्जा मन्त्रालय रास्वपालाई दिन आफू तयार रहेको प्रधानमन्त्री दाहालले भनेका थिए ।
तर, लामिछानेले सोबारे आफू पार्टीमा छलफल गर्ने भनेर बिहीबार बिहान बालुवाटारबाट बाहिरिएका थिए । नागरिकता लिएपछि लामिछानेले गृहकै विषयमा पटकपटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। भेटमा गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान दोहोर्याएका थिए । गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी समेत उनले दिएका थिए । बिहीबार विराटनगर पुगेका ओलीले रास्वपालाई नै गृहमन्त्रालय दिनुपर्ने धारणा राखेका छन् ।




















