काठमाडौं । सांसद् राजकिशोर यादवले सरकारका मन्त्रीले संविधान विपरीत बोल्नु राजनीतिक बेइमानी भएको बताएका छन् ।
संसद्को विशेष समयमा बोल्दै सांसद् यादवले मन्त्रीले संविधान विरुद्ध बोल्नु संविधान विपरीत भएको बताए । यादवले भने,‘यो राजनीतिक बेइमानी हो । त्यसैले प्रधानमन्त्रीलाई मन्त्रीले स्पष्टीकरण सोध्ने भन्नुभएको थियो । जबाफ खोइ । मन्त्रीको पदको दुरुपयोग गर्दै संघीयता र संविधानविरुद्ध बोल्नु हुँदैन थियो ।’
केही दिनअघि राप्रपाबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले संघीयता र संविधानविपरीत अभिव्यक्ति दिएको भन्दै सांसदहरूले आपत्ती जनाएका थिए ।
यादवले सदनलाई मुर्दाको रुपमा चित्रित गरे । यादवले भने,‘मलाई लाग्थ्यो,आज यो सदनभित्र विशेष प्रस्ताव आउला, के कति कारणले प्रेम आचार्यले आत्मदाह गर्न बाध्य भए, त्यसको बारेमा चर्चा होला । तर आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ । प्रेम आचार्यको बारेमा कसैको चिन्ता भएन ।’




















