काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउने पक्षमा आफू लागिपरेको बताएका छन् ।
मंगलबार पार्टी पदाधिकारी बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले आफूहरू सल्लाहमै रहेको बताए।
उनले भने,’हामी सल्लाह गर्दैछौं । सकेसम्म हाम्रो सहमति नटुटोस् भन्ने छ। त्यसका लागि प्रयास गरिरहेको छु।’
प्रचण्डले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रीमा कुर्नुपर्ने बताए ।
रास्वपाका सभापति लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि सांसद,उपसभापति र गृहमन्त्री पद गुमेको छ। सर्वोच्चको आदेशअनुसार लामिछानेले पुन:नेपाली नागरिकता प्राप्त गरेका छन् ।
नागरिकता लिएसँगै लामिछानेले पुन:गृहमन्त्रीमा दावी गरेका छन्। गृहमन्त्रीको विषयलाई लिएर लामिछाने आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । भेटका क्रममा सत्ता गठबन्धनमा सहमति भएअनुसार पुन: गृहमन्त्री रास्वापालाई नै दिनुपर्ने अडान दोहोर्याएका थिए। नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए।
प्रधानमन्त्रीले यस विषयमा आनकानी गरिरहेका छन्।
तर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेले पुन:नेपाली नागरिकता प्राप्त गरिसकेकाले गृहमन्त्री उनैलाई नै दिनुपर्ने दबाब दिइरहेका छन् ।




















