काठमाडौं । रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने कार्य प्रक्रियामा रहेको छ ।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए । उहाँलाई नागरिकताको प्रमाणपत्र दिने कार्य प्रक्रियामै रहेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्दै लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र माग गरेर निवेदन दिएका हुन् ।
अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पद गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाउनुपरेको थियो ।
यसपछि आइतबार समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । प्रशासन परिसरमा अहिले उनका समर्थकको भिड लागेको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएपछि फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए । रास्वपाले ३ बजे केन्द्रीय समितिको बैठक डाकेको छ । त्यसपछि निर्वाचन आयोगको कार्यालय जाने तयारी छ ।
सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।




















