पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति एमालेकै बन्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले सात राजनीतिक दलबीच भएको सहमतिकै आधारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई नै साझा उम्मेदवार बनाउने गरी अगाडि बढेकाले राष्ट्रपति एमालेकै बन्ने दाबी गरे ।
नेता ज्ञवालीले माओवादीकै प्रस्तावमा सरकार गठन भएकाले माओवादीकै प्रस्तावमा एमालेलाई राष्ट्रपति दिने सहमति भएको भन्दै एमालेबाहेक अन्य राष्ट्रपतिको उम्मेदवार नहुने ठोकुवा गरे । उनले भने ‘पहिले नै माओवादीसँग भएको सहमतिमा अहिले अन्य पक्षको विषयमा चर्चा गर्नु मनको लड्डु घिउसित खाने जस्तै हो ।’ नेता ज्ञवालीले अहिलेको यो गठबन्धनलाई कमजोर गराउने कुनै पनि प्रयास सफल नहुने बताए ।
सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने दाबी गर्दै उनले भने, ‘सत्तालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा नै कांग्रेसले सबै पद गुमाएको हो । अझै पनि धमिलो पानीमा माछा मार्ने दाउमा लागेको छ । त्यसैले राष्ट्रपतिको दाउ ताकेको हुन सक्छ ।’ सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति पद नपाउने दाबी उनको छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा गरेको हुनसक्ने बताउँदै उनले भने, ‘कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन । पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्नेमा कुनै शंका छैन ।’ सत्तागठबन्धका दलप्रति एमाले सशंकित नरहेको उनले बताए ।
एमाले उपमहासचिव ज्ञवालीले तत्काल काँग्रेससँग सत्ता सहकार्य हुने संभावना नरहेको समेत बताउए । एमाले उपमहासचिव ज्ञवालीले संघ र प्रदेशको निर्वाचन सकिएपछि काँग्रेससँग एजेण्डागत रुपमा छलफल गरी मुलुकलाई स्थायी सरकार निर्माणका लागि प्रस्ताव गर्दा अस्वीकार गरेको कारण तत्काल एमाले र काँग्रेसबिच सत्ता सहकार्य संभावना नरहेको धारणा व्यक्त गरे ।
मुलुकमा २००७ सालदेखि हालसम्म अस्थिर राजनीतिको कारण मुलुकमा राष्ट्रियता कामजोर भएको, विदेशी शक्तीहरुको चलखेल बढेको, संस्थागत विकास हुन नसकेको, परराष्ट्र नीतिमा एकरुपता हुन नसकेको, दलिय एकता कायम हुन नदिएको नेता ज्ञवालीको आरोप छ । २०७२ सालको नयाँ संविधानपछि पनि राजनीतिक दलहरु सत्ता लिप्साकै कारण मुलुकमा स्थायित्व हुन नसकेको उनको भनाइ थियो ।




















