काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । मुद्दामाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न सर्वोच्चले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।
इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहेका छन् ।
आजको बहसमा रिट निवेदकका तर्फबाट र रवि लामिछानेका कानुन व्यवसायीहरुले बहस गरेका थिए। रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले रवि नेपाली मूलका विदेशी नागरिक भएको जिकिर गरेका थिए। उनीहरुले लामिछाने नेपाली नागरिक नरहेको र उनले अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको दावी गरेका छन् । मुद्दामा प्रमाणका आधारमा पक्ष,विपक्ष र सरकारी वकिलको बहसप सकिएपछि फैसला आउनेछ ।
अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ । सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरू गरेको हो ।




















