काठमाडौं । प्रतिनिधिसभाको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो ।
बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहेका सांसद सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गरेका थिए भने सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गरेका छन् । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो ।
समितिलाई १५ दिनको समय दिइएको छ । प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही लगाएत व्यवस्थापकीय कार्य सम्पादन गर्दा अपनाउनुपर्ने कार्यका लागि नियमावली मस्यौदा तयार गर्ने व्यवस्था छ ।
समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल रहेका छन्।
यस्तै, महेश बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवास नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन्।