दमक । उपप्रधान एवम् ऊर्जा तथा जलश्रोत मन्त्री राजेन्द्र लिङ्देनले आफूले जनता र देशसामु गरेको वाचा कुनै बहाना नगरी काम गर्ने बताएका छन् । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफूले काम गर्ने उनले प्रष्ट पारे ।
‘जितिसकेपछि आफूले गरेका प्रतिबद्धता र वाचा जनप्रतिनिधिले भुल्ने गरेको आरोप लाग्ने गरेको छ । तर म त्यो अवस्था आउन दिने छैन’ लिङ्देनले भने । आफूले गरेका प्रतिबद्धता र वाचा पूरा गरेर देखाउने उनले बताए । आफूले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने उनले प्रतिबद्धता जनाए ।
राप्रपाका अध्यक्ष समेत रहेका मन्त्री लिङ्देन सरकारमा सहभागी भएपछि पहिलो पटक आइतबार अपराह्न आफ्नो निर्वाचन क्षेत्रमा पर्ने हल्दिबारी गाउँपालिकाको गोल्धाप आएका छन् । झापाको क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य लिङ्देनलाई पञ्चेबाजासहित नाँचगान गरेर क्षेत्र प्रवेश गराइएको थियो ।
आफ्नो क्षेत्र र मुलुकमा नै विकास निर्माणको युग सुरु भएको बताए । लामो समयदेखि पछि परेको ग्रामीण क्षेत्रको विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताउँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अब हाम्रो क्षेत्रमा विकास भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था आउने छैन र विकासको युगको सुरुवात भएको छ ।’
गोल्धापमा स्थानीयहरूसँग कुराकानी गर्दै लिङ्देनले यस क्षेत्रका जनताका कारण नै आफूले अहिलेको उपलब्धि हासिल गरेको भन्दै यस क्षेत्रको विकास नै आफ्नो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता पनि जनाए ।




















