काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारजनाको ज्यान जानेगरी सुर्खेतमा भएको जिप दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । आइतबार बिहान छिन्चुदेखि सुर्खेततर्फ जाँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।
उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
आइतबार बिहान २ः३० बजे जिप अनियन्त्रित भई सडकदेखि ७०-८० मिटर तल खस्दा सुर्खेत वीरेन्द्रनगरका २७ वर्षीय सागर शाही, दैलेख डुंगेश्वर गाउँपालिका-५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ बस्ने वर्ष ३१ का बबिन शाही, दैलेख गुराँस गाउँपालिका-३ बस्ने वर्ष ३६ का राजेन्द्र विसीको मृत्यु भएको थियो ।
दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















