काठमाडौं । आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँछन् । सोनाम ल्होसारका अवसरमा सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ भने देशका अन्य भागमा पनि ल्होसार मनाइने गरिन्छ । तामाङ समुदायमा इष्ट देवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाउने गरिन्छ । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, अन्य दलका प्रमुख नेता तथा अन्य नेताहरूले शुभकामना सन्देश व्यक्त गरेका छन् ।




















