काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । हराइरहेकाहरूको खोजी गर्ने क्रममा विमानको ब्ल्याक बक्स भेटिएको हो ।
ब्ल्याक बक्सबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने छ। दुर्घटनाअघि पाइलटले बोलेका सबै कुराहरू ब्ल्याक बक्समा रेकर्ड भएको हुन्छ ।
दुर्घटनामा परेका चार जना भेटिएका छैनन् । भेट्न बाँकी चारै जना बालबालिका हुन् । चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन् । उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए ।
रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको बताएका छन् । यसको मतलब अब भेटिन बाँकी सबै शव बालबालिकाका हुन् ।
६८ जनाको शव आइतबार नै रिकभर भएको थियो। शसस्त्र प्रहरी बलको गोताखोर टोलीले बाँकीको खोजी गरिरहेपनि फेला पर्न सकेका छैनन् । फेला परेका शवलाई गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ।
ठाकुरका अनुसार काठमाडौंबाट दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई सोमबार पोखरा पठाइँदै छ। उनीहरुले फेला परेका शवलाई कसरी पहिचान र हस्तान्तरण गर्ने भन्ने निर्णय गर्ने ठाकुरले बताएका छन् ।