पोखरा । आइतबार दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए ।
पहिचान भएकाहरूमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवाकर र पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल रहेका छन् ।
यस्तै पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उहाँकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङको पहिचान खुलेको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।
यसैगरी रुपन्देही शंकरनगर ८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको बताइएको छ । पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने तयारी छ ।