काठमाडौं । सरकारले आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।
सरकारले यती एयरलाइन्स विमान दुर्घटनाका परी निधन भएका यात्रुहरूप्रति गहिरो शोक प्रकट गर्दै सोमबार शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको थियो । यती एयरलाइन्सको विमान दुर्घटनापछि आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले एकदिन शोक मनाउने निर्णय गरेको जानकारी दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रद्धाञ्जलि र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’
मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार मुलुकभर एक दिन राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको जनाएको छ । विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै गृह मन्त्रालयले सोमबार अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिने तथा सो दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख गरेको छ ।
मन्त्रिपरिषद् बैठकले घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि निर्णय गरेको छ । विमान दुर्घटनामा परेकाहरूको पार्थिव शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान पनि सरकारले सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।




















